२०८२ मङ्सिर ९ गते सोमवार

‘तिम्रो पालामा हाम्रो पालो’ कार्यक्रम सफलतापूर्वक सम्पन्न, जीवनका प्रेरणादायी कथाले भरियो माहोल

तुलसिपुर, ८ मंसिर
गुरुकुल एकेडेमी तुलसीपुरमा आज सम्पन्न ‘तिम्रो पालामा हाम्रो पालो’ कार्यक्रम अत्यन्तै प्रेरणादायी र अविस्मरणीय बनेको छ। समाजसेवी तथा शिक्षण–क्षेत्रका अनुभवी व्यक्तित्व गोविन्द मजगैँयाज्यूका जीवनका उतार–चढाव, चुनौतीका क्षणहरू र हासिल गरेका उपलब्धिहरूलाई केन्द्रमा राखी सञ्चालन गरिएको कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा र जीवनप्रति नयाँ दृष्टिकोण विकास गरेको छ। कार्यक्रम गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सञ्चालन गरिएको थियो। विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको उत्साहपूर्ण उपस्थिति रहेको कार्यक्रममा मजगैँयाज्यूले आफ्ना जीवनका अनुभवहरू खुलस्त रूपमा ब्यक्त गर्नुभयो। उहाँले कठिन परिस्थितिमा पनि धैर्य, मेहनत र सकारात्मक सोच राख्न सके सफलताको बाटो आफैँ खुल्दै जाने बताउँदै विद्यार्थीलक्षित प्रेरणादायी सन्देश दिनुभयो।

कार्यक्रममा वक्ताहरूले मजगैँयाज्यूको संघर्षयात्रा, सामाजिक योगदान तथा शिक्षाक्षेत्रमा उहाँले पुर्‍याउँदै आएको प्रभावको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूले युवा पुस्तालाई सही मार्गदर्शन प्रदान गर्ने उल्लेख गरे। कार्यक्रममा सहभागी विद्यार्थीहरूले जीवनका मूल्य, कठिनाइसँग जुध्ने हिम्मत तथा नेतृत्व क्षमताबारे महत्त्वपूर्ण सिकाइ पाएको प्रतिक्रियासमेत दिएका छन्।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले ‘तिम्रो पालामा हाम्रो पालो’ कार्यक्रम निरन्तर रूपमा आयोजना गर्दै विद्यार्थीहरूलाई वास्तविक जीवनका अनुभवसँग जोड्न विद्यालय प्रतिबद्ध रहेको बताउनुभयो। उहाँका अनुसार, विद्यार्थीहरूले पुस्तकै ज्ञान मात्र होइन, जीवनका वास्तविक कथाबाट समेत प्रेरणा लिनु आवश्यक छ। कार्यक्रममा गोविन्द मजगैँयाज्यूलाई सम्मानपत्र प्रदान गरिएको थियो। समग्र कार्यक्रममा उत्साह, प्रेरणा र सकारात्मक ऊर्जा भरपूर देखिएको थियो।

प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस