काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफू र रमेश लेखकलाई समात्नु नै सुशासन हो भन्ने सोचिरहेको बताएका छन्।आइतबार गुण्डुस्थित निवासमा प्रेस चौतारीका प्रतिनिधिहरुसँगको भेटघाटका क्रममा उनले आफूलाई र लेखकलाई गिरफ्तार गरेर थुन्नुलाई नै अहिलेको सरकारले सुशासन ठानिरहेको बताएका हुन्। त्यसका लागि जेन–जीहरुलाई संगठित गर्ने, उनीहरुको मागपत्र लेखिदिने, मागपत्र पढाउने, उनीहरुको हातमा मागपत्र दिने जेन–जीहरुलाई बोलाएर दबाब दिए भन्ने भ्रम फैल्याउने काममा सरकार लागेको बताए।
वर्तमान सरकारले बिना पैसाको नाटक देखाइरहेको टिप्पणी पनि उनले गरे। जेन–जीले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएको मागपत्र कसले, कहाँ ड्राफ्ट गरेको भन्नेसमेत आफूलाई जानकारी रहेको बताए। आफूहरु बिना पैसामा असंवैधानिक सरकारको तमासा हेर्न बाध्य भएको उनको भनाइ छ।
उनले भने, ‘अहिले सरकारमा हुनेहरुले सुशासन भनेको केपी ओली र रमेश लेखकलाई गिरफ्तार गरेर थुन्नु भन्ने बुझेका छन् र त्यसका निम्ति जेनजीहरुलाई संगठित गर्नु, जेनजीहरुको मागपत्र लेखिदिनु, जेनजीहरुलाई बोलाएर मागपत्र पढाउनु, जेनजीहरुका हातमा मागपत्र थमाइदिनु, जेनजीहरुको डेलिगेशन बोलाउने, डेलिगेशन भेट्ने र सञ्चारकर्मीहरुका अगाडि डेलिगेशन आयो, जेनजीहरुले सरकारलाई दबाब दिए लौ के गरौँ भनेर सरकार त दबाबमा छ भन्ने देखाउन आर्टिफिसियल ड्रामा तयार भएको छ।’











