दाङ- नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतको फैसला नै निर्णायक हुने बताउनुभएकाे छ ।प्रेस चौतारी दाङले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा उँहाले प्रतिनिधि सभा विघटन र सरकार गठनसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको भन्दै अदालतको निर्णय आउनुअघि कुनै निष्कर्षमा पुग्नु हतारो हुने टिप्पणी गर्नुभयाे।
पोखरेलले विगतका नजिरका आधारमा संसद् विघटन संविधानसम्मत नदेखिएको उल्लेख गर्दै भन्नुभयाे, “जबसम्म प्रतिनिधि सभामा सरकार गठनको सम्भावना रहन्छ, त्यतिबेला विघटन गर्न मिल्दैन भन्ने सर्वोच्चको फैसला छ। त्यही नजिरअनुसार अहिलेको विघटन संविधानसम्मत कसरी हुन सक्छ?”उँहाले अदालत संविधानको अन्तिम व्याख्याता भएको र त्यसको निर्णय कानुन सरह मानिनुपर्ने बताउनुभयाे। “फैसला जसरी आउँछ, त्यसैको आधारमा अघि बढ्छौं,” उँहाले भन्नुभयाे, “यदि पुनःस्थापना भयो भने जेन–जी युवाका जायज माग सम्बोधन गर्दै राजनीतिक सहमति खोज्नेछौं। एमाले चुनावबाट कहिल्यै भाग्दैन।”
महासचिव पोखरेलले वर्तमान सरकारले नागरिक सुरक्षाप्रति गम्भीरता नदेखाएको आरोप लगाउँदै अराजकतालाई बढावा दिएर समाज बन्न नसक्ने बताउनुभयाे। भदौ २३ र २४ का घटनाबारे उँहाले “त्यो क्रान्ति नभई राष्ट्रविरोधी गतिविधि हो” भन्दै त्यसमा सुरक्षा निकायबीच समन्वय नहुँदा समस्या उत्पन्न भएको उल्लेख गर्नुभयाे।उँहाका अनुसार जेन–जी आन्दोलनमा उठाइएका केही माग जायज भए पनि त्यसमा राष्ट्रविरोधी तत्वहरूको घुसपैठ भएको छ। साथै उँहाले सरकार एनजिओ–आइएनजिओको प्रभावमा चलेको आरोपसमेत लगाउनुभयाे ।











