२०८३ बैशाख ५ गते शनिवार

नेकपा एमाले नेतृ साजिदा सिद्धिकीद्धारा संविधान दिवसको अवसरमा शुभकामना

दाङ, भदौ ३
संविधान दिवसको अवसरमा नेकपा एमाले केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहाद संगठनकी केन्द्रीय उपाध्यक्ष, महिला नेतृ साजिदा सिद्धिकीले विशेष शुभकामना व्यक्त गर्नुभएको छ । १० औं संविधान दिवसको सन्दर्भमा शुभकामना दिंदै उहाँले वर्तमान देशको जटिल र विषम परिस्थिति सामना गर्दै संविधानको भावना अनुसार मुलुकलाई नयाँ उचाइमा पु¥याउनु सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार संविधानले देशलाई एकताबद्ध, समावेशी र अग्रगामी बाटोमा अघि बढाउने आधार तयार गरिसकेको छ, त्यसैले अहिलेको मुख्य कार्य भनेको संविधानको सफल कार्यान्वयन र त्यसअनुरूप जनतालाई प्रत्यक्ष लाभ पुर्याउनु हो ।

नेतृ सिद्धिकीले हाल उत्पन्न सामाजिक, आर्थिक तथा राजनीतिक चुनौतीहरूको समाधान खोज्ने दिशामा सबै दल र नागरिक एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेकपा एमालेले सदैव राष्ट्रिय स्वाभिमान, लोकतान्त्रिक अभ्यास र जनताको अधिकार संरक्षणमा अग्रणी भूमिका खेल्दै आएको र भविष्यमा अझ महत्वपूर्ण योगदान दिने विश्वास पनि व्यक्त गर्नुभयो ।संविधान दिवसलाई राष्ट्रिय एकता, समृद्धि र स्थिरताको दिवसका रूपमा आत्मसात् गर्नुपर्ने उल्लेख गर्दै उहाँले देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानलाई सर्वोपरि राख्दै संविधानको मर्म अनुसार अघि बढे मात्र जनताको अपेक्षा पूरा हुने धारणा राख्नुभयो ।

सिद्धिकीले विशेषतः महिला, दलित, मुस्लिम, मधेशी र सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गर्न संविधानले टेवा पु¥याएको भन्दै यसको पूर्ण कार्यान्वयनमार्फत समान अधिकार, समान अवसर र समान प्रतिनिधित्वको वातावरण बनाइने विश्वास समेत व्यक्त गर्नुभयो ।संविधान दिवसलाई राष्ट्रिय पर्वका रूपमा आत्मसात् गर्दै उहाँले सबैलाई आपसी एकता, सद्भाव र सहकार्यका आधारमा अघि बढ्न आह्वान गर्नुभयो ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस