२०८२ फाल्गुन ३० गते शनिवार

गणेशमानलाई सम्झँदै कांग्रेसले भन्यो,‘अब पार्टीको पुनःनिर्माणमा लागौँ’

दाङ, ३ भदौ ।

जेन–जी आन्दोलनका क्रममा भएका तोडफोड, आगजनी र आक्रमणका कारण कमजोर भएको आफ्ना शुभेच्छुक र कार्यकर्ताको मनोबल बढाउन नेपाली कांग्रेसले आफूलाई नयाँ ढङ्गले अघि बढाउनुपर्नेमा घोराहीमा आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । गणेशमान सिंहको २८ औँ स्मृति दिवसका अवसरमा बिहिबार नेपाली कांग्रेस दाङले घोराहीमा आयोजना गरेको कार्यक्रममा बोल्ने नेताहरूले वर्तमान जटिल परिस्थितिमा संयमित र सुझबुझका साथ अघि बढ्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा नेपाली कांग्रेस दाङका पूर्वसभापति विरकेशवरी गौतमले जेन–जीका नाममा लोकतन्त्रसँगै नेपाली कांग्रेसलाई कमजोर पार्ने गरी सुनियोजित रूपमा पार्टी कार्यालय, शालिकसँगै नेताहरूमाथि आक्रमण भएको बताए । उनले अहिलेको परिस्थितिमा लोकतन्त्रप्रति प्रतिबद्ध भएर जिम्मेवारीपूर्वक पार्टी कार्यकर्तासँगै आम नागरिकको मनोबल बढाउने गरी लाग्न आवश्यक रहेको बताए । नेपाली कांग्रेस दाङका पूर्व सभापति मोहनलाल वलीले पार्टीलाई रूपान्तरणका लागि लाग्नुपर्ने बताए ।

राष्ट्रिय सभाका पूर्व प्रमुख सचेतक अनिता देवकोटाले अहिलेको विषम परिस्थितिमा कांग्रेसमाथि आक्रमण बढ्दो रहेको भन्दै कांग्रेसलाई आक्रमण गर्दा लोकतन्त्रलाई कमजोर बनाउन सकिने उद्देश्यले आक्रमण भएको बताइन् । अहिले कार्यकर्तासँगै आम नागरिकमा साहस र शक्तिका साथ अघि बढ्न ऊर्जा आवश्यक रहेको भन्दै त्यसका लागि कार्ययोजना बनाउन आवश्यक रहेको बताइन् । नेपाली कांग्रेस दाङका पूर्वजिल्ला सचिव कमलकिशोर घिमिरेले अहिलेको परिस्थितिले गणेशमान सिंहको त्याग, समर्पण र बलिदानको महत्वलाई पुष्टि गरेको बताए । उनले मुलुकको वर्तमान अवस्थालाई मूल्याङ्कन गर्दै पार्टी निर्माण र कार्यकर्तामा ऊर्जा भर्न जानुपर्ने बताए । महासमिति सदस्य भुपबहादुर डाँगीले नेताहरूको त्याग र तपस्याबाट प्राप्त उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए । उनले अहिलेको अवस्थामा आलोचनाभन्दा संयमित भएर पार्टी निर्माणमा लाग्न आवश्यक रहेको भन्दै आगोमा घिउ छर्कने काम नगर्न आग्रह गरेका थिए ।

नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्काले कठिन परिस्थितिमा पार्टीलाई रूपान्तरणका लागि सबैको मनोबल बढाउने गरी लाग्नुपर्ने बताए । पार्टीको नीति, सिद्धान्तभन्दा बाहिर जानेको समीक्षा गर्दै कारबाही आवश्यक रहेकोमा उनको जोड दिए । महाधिवेशन प्रतिनिधि बमबहादुर डिसीले अहिलेको परिस्थितिमा पार्टीसँगै पार्टीका नेताहरूमाथि भएको आक्रमण राष्ट्र र राष्ट्रियतामाथिको आक्रमण भएको बताए । बंगालचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसीले चुनौतीसँगै अवसरसमेत भएकाले पार्टी पुनःनिर्माणका लागि एकजुट हुने अवसर भएको बताए ।नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष विपुल पोख्रेलले देशको अहिलेको जेनी–जी आन्दोलनलाई अवसरका रूपमा लिँदै लोकतन्त्र, नागरिक अधिकार एवम् पार्टी संगठन निर्माणमा एकजुट हुने अवसर दिएको बताए । एकले अर्काको आलोचना गर्नुभन्दा हरेक नेताले आचरण सुधार गर्दै अघि बढ्न सके पार्टी निर्माणका लागि महत्वपूर्ण योगदान हुने बताए । नेपाल किसान संघ दाङका अध्यक्ष चन्द्रप्रसाद चौधरीले अहिलेको अवस्थामा विगतका तीता मिठा कुरा बिर्सिएर सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए । जिल्ला उपसभापति कमानसिंह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई अर्का उपभासपति गिरिराज सुवेदीले धन्यावाद ज्ञापन गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव अर्जुनकुमार योगीले गरेका थिए ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस