घोराही १४ भाद्र
रुन्टिगढि सेवा समाज दाङले आफ्ना क्षेत्रका प्रतिभाशाली विद्यार्थीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने छात्र–छात्रालाई सम्मान गरेको छ । समाजले अघिल्लो बैठकमा गरेको निर्णयअनुसार आयोजित उक्त कार्यक्रममा यसपटक छात्रा तर्फ सिद्धार्थ एकेडेमीबाट एसईई उत्तीर्ण भएकी सोनिया पुरी र छात्र तर्फ दिपशिखा माध्यमिक विद्यालयबाट उत्तीर्ण भएका माधव डिसीलाई सम्मान गरिएको हो ।
समाजका अध्यक्ष गिरीराज दसौदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रेखा वली, सचिव नरेन्द्र डिसी तथा कोषाध्यक्ष पहलमान थापाले विद्यार्थीहरुको मेहनत र सफलताको प्रशंसा गर्दै बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । वक्ताहरुले विद्यार्थीहरुको परिश्रम, अभिभावक र शिक्षकको सहयोगले मात्र उत्कृष्ट नतिजा सम्भव हुने बताउँदै आगामी दिनमा अझै उत्कृष्ट उपलब्धि हासिल गर्न प्रेरित गर्नुभयो ।
कार्यक्रमको सहजीकरण समाजका वरिष्ठ उपाध्यक्ष पोम बहादुर बुढाथोकिले गर्नुभएको थियो । उहाँले समाजले विद्या र ज्ञानलाई उच्च स्थान दिने र उत्कृष्टता हासिल गर्ने छात्र–छात्राहरुलाई निरन्तर प्रोत्साहन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रुन्टिगढि सेवा समाजले आफ्नो सामुदायिक उत्तरदायित्वअनुसार शिक्षा क्षेत्रमा योगदान पु¥याउने हेतुले यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिँदै समाजका पदाधिकारीहरुले विद्यार्थीहरुलाई अझै राम्रोसँग अध्ययनमा लाग्न अनुरोध समेत गरेका छन् । यस किसिमका कार्यक्रमहरुले विद्यार्थीमा नयाँ ऊर्जा थप्ने विश्वास समेत समाजले व्यक्त गरेको छ ।











