दाङ, १३ भदौ ।
दाङको घोराहीमा पहिलो पटक झाँक्री सम्मेलन भएको छ । १२ भदौको अवसरमा घोराही उपमहानगरपालिका–१६ बाहुनडाँडास्थीत शिव पार्वती मीन्दरमा सामाजिक सद्भाव, मौलिकताको संरक्षण, पर्यटन प्रवद्र्धन र जातीय समानता कायम गर्ने उद्देश्यका साथ विहीवार प्रथम राष्ट्रिय धामी, झाँक्री, माता तथा गुरुवाहरु सम्मेलन भएको हो । सनातन धर्म, संस्कार र संस्कृतिको सम्मान’ झाँक्रीहरुको विशेष दिन १२ भदौको अवसर पारेर सम्मेलन गरिएको नेपाल ज्योतिष परिषद् दाङका उपाध्यक्ष एवं सम्मेलन संयोजक पदमबहादुर बस्नेतले जानकारी दिनुभएको छ । नेपाल ज्योतिष परिषद् दाङको आयोजनामा भएको सम्मेलनमा दाङ, रोल्पा, रुकुम, बाँके, बर्दियाका धामी, झाँक्री, माता तथा गुरुवाहरुको सहभागिता रहेको थियो ।
सम्मेलनमा झाँक्री नाच प्रदर्शन, मौलिक कला र संस्कृतिको प्रदर्शन, धामी झाँक्री र तन्त्र साधकहरुलाई अनुभव आदानप्रदानसँगै छलफल गरिएको थियो ।प्रथम राष्ट्रिय धामी, झाँक्री, माता तथा गुरुवाहरुको सम्मेलनको उद्घाटन गर्दै घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीले मौलिक कला, संस्कृतिका नाममा हुने विकृति र विसंगतिलाई हटाएर कला संस्कृतिको संरक्षण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो । आजको आधुनिक युगमा धामी झाँक्रीको मात्र विश्वास गर्न नहुने भन्दै नगर प्रमुख चौधरीले सम्मेलनमा कोही बिरामी पर्दा अस्पताललाई प्राथमिकतामा राख्न आग्रह गर्नुभएको थियो ।
नेपाल ज्योतिष परिषद् दाङका उपाध्यक्ष एवं सम्मेलन संयोजक पदमबहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा परम्परालाई छोड्नु पर्छ, मान्नुहुँदैन भन्ने पक्षमा आफु पनि नरहेको भन्दै नगर प्रमुख चौधरीले भन्नुभयो ,‘हाम्रा कला,संस्कृतिभित्रका राम्रा पक्षलाई अनुसरण गर्न आवश्यक छ । कला,सस्कृतिको नाममा गलत कार्यलाई मान्नुपर्छ भन्ने छैन । कुरिती र विकृतिलाई हटाउनै पर्छ ।’ कार्यक्रमको सहजीकरण मिना भण्डारी वलीले गर्नुभएको थियो ।










