घोराही ४ श्रावण ।
गुरुकुल एकेडेमी घोराहीले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको क्षमता अभिवृद्धि र सिकाइ प्रस्तुतिका लागि लक्षित गर्दै हामिसंग ज्ञानी नानी कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयका संयोजक भुवन आचार्यका अनुसार, सो कार्यक्रम विद्यार्थीहरुले कक्षा कोठामा सिकेका शैक्षिक ज्ञान र व्यवहारलाई आफ्ना अभिभावकमाझ प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको हो। कार्यक्रममा कक्षा प्रि २ देखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न शैक्षिक सामग्री, विज्ञानका प्रयोग, गणितीय गतिविधि, भाषिक प्रस्तुति, सामाजिक विषयका कुराकानी लगायतका विषयमा आफ्नो प्रस्तुति दिएका थिए। उनीहरुले सिकेका कुराहरुलाई सिर्जनात्मक र आकर्षक तरिकाले प्रस्तुत गर्दै अभिभावकहरुलाई प्रभावित बनाएका थिए।
विद्यालयले कार्यक्रममार्फत विद्यार्थी, शिक्षक र अभिभावक बीचको सम्बन्धलाई अझ सशक्त बनाउने प्रयास गरेको बताउँदै संयोजक आचार्यले भन्नुभयो , “शिक्षकले पढाएको कुराले विद्यार्थी कत्तिको बुझ्नेछन् भन्ने मूल्याङ्कन गर्न अभिभावकसमक्ष प्रत्यक्ष प्रस्तुति एउटा प्रभावकारी माध्यम हो। यस कार्यक्रमले सिकाइको व्यवहारिक पक्षमा समेत जोड दिएको छ।”
कार्यक्रममा विद्यालयका सम्पुर्ण अभिभावकहरुको उपस्थिति थियो। उनीहरुले आफ्ना सन्तानले सिकेका ज्ञान र प्रस्तुतिको प्रशंसा गर्दै विद्यालयप्रति कृतज्ञता व्यक्त गरेका हुन। उनीहरुको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रेरणादायी बनाएको छ। विद्यालयका प्रधानाध्यापक, शिक्षकगण तथा अन्य शैक्षिक पदाधिकारीहरुको पनि उपस्थिति रहेको कार्यक्रममा विद्यालयले यस्ता गतिविधिहरु निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। हामिसंग ज्ञानी नानी कार्यक्रमले विद्यार्थीहरुमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै सिकाइको गुणस्तरमा समेत सुधार ल्याउने विश्वास विद्यालयले लिएको छ।











