२०८२ मङ्सिर १८ गते बुधवार

दाङका स्थानीय तहमा नौ अर्ब बढी बजेट : धेरैमा घोराही, थोरैमा दंगीशरण

११ असार, घोराही
दाङका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि करिब नौ अर्ब बढी बजेट ल्याएका छन् । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिकाले मङ्गलवार आगामी आर्थिक वर्षका लागि नौ अर्ब ३४ करोड ११ लाख ३१ हजार पाँच सय २४ रुपैयाँ बराबरको बजेट ल्याएका हुन् । स्थानीय तहले आगामी आर्थिक वर्षका लागि ल्याएको समग्र बजेटमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकाले दुई अर्ब २९ करोड २७ लाख रुपैयाँको बजेट ल्याएको छ भने सबैभन्दा थोरै दंगीशरण गाउँपालिकाले ४५ करोड ११ लाख ४१ हजार रुपैयाँको बजेट ल्याएको छ ।

यसैगरी, तुलसीपुर उपमहानगरपालिकाले दुई अर्ब छ करोड ६६ लाख ९३ हजार आठ सय ५५ रुपैयाँ, लमही नगरपालिकाले ८८ करोड ३१ लाख ७७ हजार नौ सय २९ रुपैयाँ, गढवा गाउँपालिकाले ७८ करोड ७५ लाख ९४ हजार, राप्ती गाउँपालिकाले ६३ करोड ६१ लाख ३१ हजार रुपैयाँको बजेट ल्याएका छन् ।

यसैगरी, बंगलाचुली गाउँपालिकाले ६२ करोड ६६ लाख, राजपुर गाउँपालिकाले ६० करोड २४ लाख ६५ हजार आठ सय चार, बबई गाउँपालिकाले ५० करोड ५१ लाख, शान्तिनगर गाउँपालिकाले ४८ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएका छन् । स्थानीय तहले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा विशेष जोड दिएका छन् ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस