जेठ १९ घोराही
दाङ जिल्लाको घोराही–तुलसिपुर सडकखण्ड अन्तर्गत फन भ्याली नजिकै दुर्लभ वन्यजन्तु भाले हुँडारको सवारीको ठक्करबाट मृत्यु भएको छ। वन्यजन्तु संरक्षणको दृष्टिकोणले महत्त्वपूर्ण मानिने उक्त प्राणीको मृत्युले स्थानीयवासी, सुरक्षा निकाय तथा सरोकारवालालाई चिन्तित बनाएको छ। डिभिजन वन कार्यालय, घोराहीका रेन्जर चक्रपाणि शर्माका अनुसार, मृत भाले हुँडारको लम्बाइ करिब ५ फिट र शरीरको गोलाइ १६ इन्च रहेको छ। अनुमानित उमेर ८ देखि १० वर्षको बीचमा रहेको बताइएको छ। विगतमा त्यति सक्रिय रूपमा नदेखिएको यो प्रजाति सडक क्षेत्रमा देखिनु र दुर्घटनामा पर्नु वन्यजन्तुको सुरक्षित बसोबासमा चुनौती खडा भएको संकेत हो।
मृत हुँडारको शव व्यवस्थापन डिभिजन वन कार्यालय घोराहीले गरेको हो। उक्त कार्यमा इलाका प्रहरी कार्यालय नारायणपुर, अस्थायी ट्राफिक प्रहरी नारायणपुर, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा आवश्यक प्रकृया पुर्याएर शव व्यवस्थापन गरिएको जनाइएको छ।
वर्तमान अवस्थामा सडकमा वन्यजन्तुको चहलपहल बढ्दै गएको र सवारी दुर्घटनाबाट यस्ता घटना पुनः नदोहरियोस् भन्ने हेतुले सम्बन्धित निकायले सचेतना र सतर्कता आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। यस घटनाले वन्यजन्तु संरक्षण तथा सडक सुरक्षाबीचको सन्तुलनमा गम्भीर सोच र दीर्घकालीन योजना आवश्यक रहेको देखाएको छ। वन अधिकारीका अनुसार यदि यस्ता घटनाहरू दोहोरिरहेमा दाङ जस्तो जैविक विविधताले भरिएको क्षेत्रमा जैविक संकट निम्तिन सक्ने सम्भावना रहन्छ।











