२०८२ फाल्गुन ३० गते शनिवार

गणतन्त्र दिवस परासीमा भव्य रूपमा सम्पन्न,गणतन्त्र प्रणाली जनताको अधिकार सुनिश्चित गर्ने व्यवस्था हो: नेतृ सिद्दिकि

जेठ १५ दाङ
गणतन्त्र दिवस २०८२ को अवसरमा पश्चिम नवलपरासीको परासीमा एक विशेष कार्यक्रमका बीच भव्य रूपले गणतन्त्र दिवस मनाइएको छ। कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा मुस्लिम इतिहास संगठन नेपालकी केन्द्रीय उपाध्यक्ष साजिदा सिद्दिकी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो भने कार्यक्रमलाई परासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विशेष आतिथ्यतामा सम्बोधन गर्नुभएको थियो ।

कार्यक्रमको आयोजना विभिन्न संघसंस्था र नागरिक समाजको सहकार्यमा गरिएको थियो। समारोहमा स्थानिय जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रतिनिधिहरू, बुद्धिजीवी, विद्यार्थी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। विशिष्ट अतिथि साजिदा सिद्दिकीले कार्यक्रममा सम्बोधन गर्दै गणतन्त्र नेपालको ऐतिहासिक यात्रा, जनताको बलिदान र योगदानप्रति सम्मान व्यक्त गर्नुभएको थियो । उहाँले भन्नुभयो , “गणतन्त्र प्रणाली जनताको अधिकार सुनिश्चित गर्ने व्यवस्था हो। हामीले यसलाई संरक्षण गर्न सबै तहका जनताले सजग रहनु आवश्यक छ।” उँहाले विशेष गरी महिलाहरू, मुस्लिम समुदाय र अल्पसंख्यक समूहको अधिकार र सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

विशेष अतिथि प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गणतन्त्रले ल्याएको सामाजिक, राजनीतिक र प्रशासनिक रूपान्तरणको समीक्षा गर्दै नागरिक कर्तव्यबोध र जिम्मेवारीबारे चर्चा गर्नुभयो । उहाँले भन्नुभयो , “गणतन्त्र सशक्त बनाउन राज्य र जनताको सम्बन्ध अझ पारदर्शी र उत्तरदायी हुन आवश्यक छ।”गणतन्त्र दिवसको यस विशेष कार्यक्रमले स्थानीयस्तरमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता र विविधताबीचको समन्वयको सन्देश दिएको सहभागीहरूले बताएका छन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस