२०८२ असार २६ गते बिहिवार

गुरुकुल एकेडेमीका खेलाडी यु–१४ बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगितामा प्रथम, राष्ट्रिय प्रतियोगितामा लुम्बिनीको प्रतिनिधित्व गर्ने

घोराही १५ जेष्ठ
दाङस्थित गुरुकुल एकेडेमीका खेलाडीहरूले यु–१४ उमेर समूहको बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनी प्रदेशस्तरीय छनोट प्रतियोगितामा दाङको नेतृत्व गर्दै प्रथम स्थान हासिल गरेका छन्। लुम्बिनि प्रदेश बास्केटबल संघको आयोजना तथा सम्बन्धित खेल संघहरूको समन्वयमा सम्पन्न उक्त यु–१४ छनोट प्रतियोगिता २०८२ लुम्बिनि प्रदेशका जिल्लाहरुमाझ कडा प्रतिस्पर्धाका साथ सम्पन्न भएको थियो। प्रतियोगितामा गुरुकुल एकेडेमीबाट सहभागी भएका खेलाडीहरूले आफ्नो उत्कृष्ट कौशल, अनुशासन र समर्पणद्वारा निर्णायक विजय हात पार्दै दाङ जिल्लालाई गौरवान्वित बनाउदै लुम्बिनि प्रदेशमा छनोट भएका हुन्।

बास्केटबलमा गुरुकुल एकेडेमीको टिमले प्रारम्भिक चरणदेखि नै प्रभावशाली प्रदर्शन गर्दै अन्तिमसम्मको यात्रा तय गर्‍यो। फाइनल खेलमा प्रतिद्वन्द्वी टिममाथि शानदार जित दर्ता गर्दै उनीहरूले प्रदेशस्तरीय उपाधि चुमेका हुन्। बास्केटबलमा गुरुकुल एकेडेमीको तर्फबाट कमल जिएम ,सहज बुढा , बिभन बस्नेत ,सद्गुन थापा र आदित्य थकाली लगायतका खेलाडिहरु सहभागि भएका थिए । त्यस्तै, ब्याडमिन्टन तर्फ पनि एकल विधामा उत्कृष्ट प्रदर्शन गर्दै गुरुकुलका ज्योतिरध्या चौधरीले प्रथम स्थान प्राप्त गर्न सफल भएका हुन।

उक्त जितसँगै अब गुरुकुल एकेडेमीका खेलाडीहरू लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरको यु–१४ बास्केटबल तथा ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुने भएका छन्। गुरुकुल एकेडेमीका विद्यालय संयोजक भुवन आचार्यले खेलाडीहरूलाई बधाई दिँदै हाम्रो विद्यालयले खेलकुदलाई शिक्षा सरह महत्त्व दिएर अगाडि बढ्दै आएको बताउनुभयो। यस उपलब्धिले हाम्रो रणनीतिक लगानीको पुष्टि गरेको छ। राष्ट्रिय स्तरमा पनि विद्यार्थीहरूले सफलता प्राप्त गर्ने हाम्रो विश्वास छ। स्थानीय अभिभावक, शिक्षाविद् तथा खेलप्रेमीहरूबाट समेत गुरुकुल एकेडेमीका खेलाडीहरूलाई बधाई तथा शुभकामना प्रदान गर्दै यस्ता प्रतियोगिताहरूले विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास सबैले व्यक्त गरेका छन्। राष्ट्रिय प्रतियोगिता निकट भविष्यमा आयोजना हुने तयारीमा रहेको छ, जसमा गुरुकुल एकेडेमीका प्रतिभावान खेलाडीहरू लुम्बिनी प्रदेशको गौरव बोक्दै प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २०८२ जेष्ठ १६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस