२०८२ असार ३ गते मङ्गलवार

गुरुकुल एकेडेमी लमही र तुलसिपुरमा पहिलो पटक निर्वाचनबाट विद्यार्थी नेतृत्व चयन

दाङ, २ जेष्ठ
गुरुकुल एकेडेमी लमही र गुरुकुल एकेडेमी तुलसिपुरमा पहिलो पटक विधिवत निर्वाचन प्रक्रियाबाट विद्यालय स्तरीय विद्यार्थी नेतृत्व चयन गरिएको छ। विद्यालयले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यासको प्रवर्धन गर्ने उद्देश्यका साथ कक्षा प्रतिनिधि, कप्तान, उपकप्तान तथा सदन कप्तानको निर्वाचन सम्पन्न गरेको हो। निर्वाचन प्रक्रियाअन्तर्गत विद्यार्थीहरूले आ–आफ्नो उम्मेदवारी घोषणा गरी प्रचार–प्रसार गरेका थिए। उम्मेदवारहरूले आफूलाई प्रस्तुत गर्दै मतदाता विद्यार्थीहरूलाई आ—आफ्ना एजेन्डा सुनाएका थिए। निर्वाचन प्रक्रिया पूर्ण रुपमा निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गरिएको थियो। मतदानका लागि  मतदान केन्द्र स्थापना गरिएको थियो ।

जहाँ विद्यार्थीहरूले गोप्य मतदानमार्फत आफूले रोजेका उम्मेदवारलाई मत दिएका हुन। विद्यालयले निर्वाचन समिति गठन गरी सम्पूर्ण प्रक्रिया संचालन गरेको थियो। समितिमा शिक्षक, व्यवस्थापन प्रतिनिधि र विद्यार्थीहरूको समावेशी सहभागिता रहेको थियो। निर्वाचनमा कक्षा ३ देखि माथिका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। उम्मेदवारहरूको उत्साह, भाषण कला, योजनाहरू र नेतृत्व क्षमताले सम्पूर्ण विद्यालयमा सकारात्मक ऊर्जा प्रवाहित गरेको थियो। निर्वाचनबाट गुरुकुल एकेडेमी लमहीको कप्तानमा प्रतिक महतो र रीतिका थारु ,यसैगरी जखेरा सदनमा रोबिक खड्का र सिजन केसि , राप्ति सदनमा उइलसन चौधरी र आयुस्मा गिरी , रतननाथ सदनमा जस्टिन बस्याल र एन्जल केसि र रीहार सदनमा प्रफिट पौडेल र तृसना सुबेदी निर्वाचित भएको गुरुकुल लमहीका प्रशासन प्रमुख सतिस पौडेलले जानकारी दिनुभयो । ११४ मतदाता रहकोमा ११३ मत खसेको थियो भने १ मत बदर भएको थियो । यसैगरी गुरुकुल एकेडेमी तुलसिपुरको विद्यालय कप्तानमा दिपक्षा बुढाथोकि तथ उप कप्तानमा पमिसा सेन वली यसैगरी टोप्याज सदन कप्तानमा प्रियन्शा योगि उप कप्तानमा अमिसा सेन वली , इमरल्ड सदन कप्तानमा अनुस्का डाँगि उप कप्तानमा सम्भव लामिछाने , सफायर सदन कप्तानमा सुदर्शन हमाल उपकप्तानमा सुदिप खड्का , रुवि सदन कप्तानमा संस्कृति पुन मगर र उपकप्तानमा अनुस्का केसि निर्वाचित भएको विद्यालय संयोजक चिन्तना धितालले जानकारी दिनुभयो ।

मतदाता संङ्या १३९ रहेकोमा १३५ मत खसेको पनि संयोजक धितालले जानकारी दिनुभयो । निर्वाचित नेतृत्वहरुलाई विद्यालयका प्रधानाध्यापकहरुले पदभार ग्रहण गराउनुभएको थियो । दुवै शाखामा पृथक रूपमा निर्वाचन गरिएको थियो र दुवै स्थानमा नव–निर्वाचित प्रतिनिधिहरूले अब विद्यालयमा नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।  यस निर्वाचन प्रक्रियाले विद्यार्थीहरूलाई नेतृत्व, कर्तव्य र सहकार्यको महत्व बुझाउने काम गरेको छ। गुरुकुल एकेडेमीले शिक्षाको साथसाथै नैतिकता र सामाजिक उत्तरदायित्वमा समेत विद्यार्थीहरूलाई सशक्त बनाउँदै गएको सन्देश दिएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस