२०८२ जेष्ठ ३ गते शुक्रवार

खेलकुद तथा सांस्कृतिक मेलामा आज चर्चित गायक रामचन्द्र काफ्ले आउने

दाङ, चैत ३१ – दाङ सोसाइटी क्लबको १६औं वार्षिक उत्सवको अवसरमा चैत ३० गतेदेखि सुरु भएको प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला उत्साहपूर्वक सञ्चालनमा रहेको छ। “खेलकुद र संस्कृति दाङको पहिचान, स्वरोजगारको आधार” भन्ने मूल नाराका साथ सुरु गरिएको मेलाले स्थानीय स्तरमा खेलकुद, सांस्कृतिक चेतना र स्वरोजगार प्रवर्द्धनमा टेवा पुगाउने अपेक्षा गरिएको छ।

मेलाको विशेष आकर्षणका रूपमा आज चर्चित गायक रामचन्द्र काफ्लेको विशेष सांगीतिक प्रस्तुति रहने क्लबका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दिए। काफ्लेसँगै कमल गाउले, अन्जु कुष्मी, राजेन्द्र चौधरी, ममता थापा र चन्द्रप्रकाश नेपालीले समेत आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ।

मेलामा सहभागी हुन चाहने सर्वसाधारणका लागि प्रवेश शुल्क रु १००, विद्यार्थीका लागि रु ५० निर्धारण गरिएको छ भने जेष्ठ नागरिक, अपांग व्यक्ति तथा पाँच वर्षमुनिका बालबालिकाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको क्लबका महासचिव कुलराज पोख्रेलले जानकारी दिएका छन्।

आजको कार्यक्रमको टिकट दिउँसो ३ बजेदेखि उपलब्ध हुने र सांस्कृतिक कार्यक्रम बेलुका ५ बजेदेखि सुरु हुने आयोजक क्लबले जनाएको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस