
चैत ३०,घोराही
पत्रकार विपुल पोख्रेलको कविता संग्रह बाको अनुहार विमोचन भएको छ । गोरक्ष राष्ट्रिय दैनिककी प्रकाशक सुलोचना गौतमको अध्यक्षता तथा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको प्रमुख आतिथ्यमा आज घोराहीमा उक्त कृतिको विमोचन गरिएको हो । कृति विमोचन गर्दै प्रमुख अतिथि शर्माले विपुल पोख्रेलले पत्रकारिता, राजनीतिसँगै साहित्यमा पनि पाइला चालेको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले विमोचित बाको अनुहार कृतिले समाजको यथार्थतालाई साहित्यका माध्यमबाट उजागर गर्ने काम गरेको बताउनुभयो । कृतिले नयाँ पुस्तालाई समाज बुझ्न र चिन्न सिकाउने बताउनुभयो ।
कृतिको समीक्षा गर्दै डा. टीकाराम उदासी र डा. कृष्णराज डिसीले कविता साहित्य मात्रै नभई समाजलाई सही रुपमा अघि बढाउन सहयोग पुर्याउने साधन रहेको बताउनुभयो । पहिलो कृतिका रुपमा पोख्रेलले कविता संग्रह प्रकाशन गरेपनि यसमा खँदिला र पठनीय सामग्री रहेको बताउनुभयो ।कृति बारे जानकारी गराउँदै कवि पोख्रेलले साहित्य मन जोड्ने बलियो साधन रहेको महसुस आफुले गरेको बताउनुभयो । उहाँले साहित्यले अनुशासन सिकाउन, तनावमुक्त बनाउन र पठन संस्कृति विकासमा सघाउने क्षेत्रका रुपमा आफुले पाएको बताउनुभयो ।
अन्तरकृयात्मक समाजका लागि पठन संस्कृति जरुरी रहेको भन्दै साहित्यिक कृतिका रुपमा बाको अनुहार साहित्य अनुरागी तथा पाठकका बीचमा ल्याएको बताउनुभयो । कार्यक्रमको सहजीकरण आदिम केसीले गर्नुभएको थियो ।।