२०८२ जेष्ठ ३ गते शुक्रवार

घोराही जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला ,सुरुः खेलकुद आर्थिक समृद्धिको आधार मन्त्री न्यौपाने

दाङ, ३० चैत ।

घोराहीमा प्रथम दाङ जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला–२०८१ सुरु भएको छ । दाङ सोसाइटी क्लब घोराहीको आयोजनामा एवं फ्रेन्ड्स स्केटजोन प्रालिको सहआयोजनामा तथा लुम्बिनी प्रदेश उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र घोराही उपमहानगरपालिकाको संरक्षकत्वमा शनिवारदेखि घोराहीमा प्रथम जिल्लास्तरीय खेलकुद तथा सांस्कृतिक मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले खेलकुद र पर्यटन क्षेत्रको विकास गर्र्दै आर्थिक समृद्धि हासिल गर्न सकिने बताउनुभयो । खेलकुद राष्ट्रको पहिचान र खेलाडीको व्यक्तिगत स्वास्थ्यका लागि महत्वपूर्णसँगै देश विकासका लागि आर्थिक समृद्धिको आधार भएको बताउनुभयो । मन्त्री न्यौपानेले त्यसका लागि खेलकुद र पर्यटन क्षेत्रमा लगानी बढाउँदै पूर्वाधार विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । उँहाले सडक, सिँचाइ र शिक्षाजस्तै खेलकुदमा पनि लगानी अपरिहार्य रहेपनि हुन नसकेको बताउनुभयोे ।

कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले दाङ सोसाईटी क्लवले जिल्लामा धेरै खेलहरुलाई एकैपटक सञ्चालन गरेर नमूना काम गरेको भन्दै यसले जिल्लामा खेलकुद क्षेत्रको विकासमा सहयोग गर्ने बताए । खेल र कला क्षेत्रलाई स्थानीय वा प्रदेश सरकारले आफ्नो गौरवको योजना घोषणा गर्दै त्यस अनुसार लगानी समेत गर्न सके खेलकुदका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए । युवा पुस्ताबाट सुरुवात भएका यस्ता कार्यलाई सवैले साथ र सहयोगको आवश्यकता रहेको छ । दाङ सोसाईटी क्लवका अध्यक्ष लेकनाथ बुढाथोकीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेल, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, नेकपा एमालेका विवेक श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नरबहादुर बुढाथोकी, दाङ क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैंयालगायतका वक्ताहरूले खेलकुदको विकासका लागि सरकार र सरोकारवाला निकायहरूले लगानी गर्नुपर्ने धारणा राखेका थिए ।

चैत ३० गतेदेखि बैशाखको १० गतेसम्म सञ्चालन हुने मेलामा ३९ विधामा ५७ वटा खेलहरू हुने आयोजक दाङ सोसाईटी क्लवका अध्यक्ष लेखनाथ बुढाथोकीले जानकारी दीनुभएको छ । अध्यक्ष बुढाथोकीका अनुसार प्रतियोगितामा दैनिक खेलकुदका विविध गतिविधिसँगै राष्ट्रियस्तरका कलाकारहरुले प्रस्तुती राख्ने छन् । दाङ सोसाईटी क्लबका उपाध्यक्ष उमाकान्त भण्डारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सञ्चालन महासचिव कुलराज पोख्रेलले गर्नुभएको थियो । मेला उद्घाटनका दिन शनिवार मेलामा भारोत्तोलन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डबिक्रम न्यौपानेले सुभारम्भ गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस