
घोराही, १४ माघ ।
घोराही उप–महानगरपालिकाको न्यायिक समितिमा आएका विवाद मध्ये ५८ प्रतिशत निरुपण भएका छन् ।समितिले सोमबार पत्रकार सम्मेलन गरेर आफ्नो दोस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गर्दै जम्मा ७९ वटा विवाद मध्ये ४६ वटा विवाद फर्छ्याैट गरेको जनाएको छ ।
घोराही उप–महानगरपालिका न्यायिक समिति संयोजक हुमा डिसीले हालसम्मको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । सीमित स्रोत साधनकाबीच समितिले कानुनी साक्षरता कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको बताउनुभयो ।
‘हामीले १ देखि १५ नम्बर वडासम्म कानुनी साक्षरता कार्यक्रम गरिसकेका छौं’ डिसीले भन्नुभयो ‘अब बाँकी रहेका १६,१७, १८ र १९ नम्बर वडामा पनि छिट्टै कार्यक्रम गर्छाैं ।’समितिले गत आर्थिक वर्षबाट सरीआएका २७ वटा विवादसहित ७९ मध्य ४६ वटा निरुपण गरेको र बाँकी ३३ वटा प्रक्रियामा रहेको जनाएको छ । समितिमा धेरैजसो जग्गा सम्बन्धि विवादहरु आउने गरेका छन् । यस्तै मजदुरहरुले ज्याला नपाएको, घरेलु हिंसा सम्बन्धि विवादहरु पनि समितिमा आउने गरेका छन् ।