
घोराही । दाङको घोराहीमा श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । मानव कल्याण समाज दाङ (सेवा घर)को आयोजनामा यही माघ १७ गतेदेखि २४ गतेसम्म घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा महायज्ञ सञ्चालन हुने भएको हो । समाजले आइबार नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलन गरी महायज्ञको बारेमा जानकारी गराएको हो ।महायज्ञ मूल आयोजक समितिका संयोजक चन्द्रराज पन्तको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा मानव कल्याण समाजकी संस्थापक अध्यक्ष तथा प्रमुख कथा बाँचिका सुमि मानवले सेवा घर हाम्रो जीवन पढ्ने विश्वविद्यालय भएको जानकारी दिँदै महायज्ञ मानव समाजको बारेमा थाहा पाउने र बुझ्ने अभियान भएको बताउनुभयाे । उँहाले समाजमा रहेका व्यक्तिहरुलाई प्रभावकारी सेवाको लागि हालसम्म नेपाली मात्रले गरेको मुठिदानबाट मात्र भइरहेको र सेवा घरको दिगो व्यवस्थापनको लागि आर्थिक स्रोत जुटाउन आवश्यक भएको हुँदा ज्ञान–विज्ञान महायज्ञको परिकल्पना गरिएको कुरामा जोड दिनुभयाे।
अध्यक्ष सुमिका अनुसार घोराही–१० नारायणपुरमा रहेको सेवा घरमा हाल ५२ जना व्यक्तिहरुले सेवा पाइरहेका छन् । जसमा चार महिनाको बालिकादेखि लिएर ९० वर्षसम्मका बृद्धहरु रहेका छन् । सेवा घरमा चार जना बालिका र तीनजना बालकहरुगरी सात जना रहेका छन् भने २१ जना पुरुष र २४ जना महिलाहरु रहेका छन् ।सेवा घरमा रहेका ५२ जनाको परिवारमा ४५ जनाले नियमित रुपमा मानसिक रोगको औषधि सेवन गरिरहेको समेत उँहाले बताउनुभयाे । महायज्ञबाट संकलित रकम सेवा घरमा रहेका व्यक्तिहरुकै लागि खाना, नाना र छानामा मात्र प्रयोग गरिने अध्यक्ष सुमिको भनाइ छ ।
महायज्ञलाई सफल बनाउन आर्थिक सहयोग गरेर वा सहयोग जुटाइदिएर साथ दिन सबैमा आयोजक समितिले अनुरोध गरेको छ । आफ्नो जन्मोत्सव, विवाह उत्सव, ब्रतबन्ध, चौरासी, गुन्युचोली, पितृहरुको सम्झना वा यस्तै विशेष पलहरुमा सेवा घरमा एकछाक भोजन वा कुनै विषयगत सेवा गरिदिएर पनि सहयोग गर्न सकिने समेत आयोजकले बताएको छ । साथै महायज्ञका लागि मूल समिति तथा विभिन्न उपसमितिहरु गठन गरिएको छ ।सेवा घरले भक्तपुरबाट केन्द्रीय कार्यालय सञ्चालन गरेको छ भने देशभर ६ स्थानबाट सेवा घर सञ्चालन गरिरहेको छ । जसमा ५ सय ३ जना व्यक्तिहरुले सेवा पाइरहेका छन् ।