
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएपछि चलेको सरकार ढल्ने चर्चाको खण्डन गर्नुभएको छ। बालुवाटार पुगेका उद्योग व्यवसायीसँग कुरा गर्दै उहाँले त्यो बजार हल्लामात्र भएको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, “अध्यादेश ल्याएपछि कांग्रेस र एमालेको नीति नमिलेर अब सरकार छिट्टै ढल्ने भन्ने बजार हल्ला छ। सरकार भने आपसमा बसेर सकारात्मक र दूरगामी महत्वका नीति निर्माण गर्दैछ र प्रभावकारी ढंगले कदम चाल्दैछ।”
उहाँले एमाले र कांग्रेसका नेताहरू देश बनाऊँ भन्ने भावनाका साथ अघि बढिरहेको बताउनुभयो। उहाँले थप्नुभयो, “केही मान्छे मात्रै हुँदा रहेछन्, आफ्ना स्वार्थका लागि देशको कुनै मतलब छैन। जतिबेला अनटुसन्ट बोल्ने, विरोध गर्ने। तिनलाई आफ्नो पिठो बेच्नुछ। तर, आम मानिसको चाहना सुशासन र विकाससँग सम्बन्धित हुन्छ।”
हिजो सिन्धुपाल्चोकको सुकुटे पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसका संस्थापन पक्षका नेताहरूले पनि असन्तुष्टि जनाउन थालिसकेकाले ओली सरकार चाँडै ढल्ने दाबी गर्नुभएको थियो।
अध्यादेशलाई लिएर कांग्रेसका केही नेताले पनि असन्तुष्टि व्यक्त गरेका छन्। सरकारको ६ महिनाको कामको समीक्षा गर्न देउवाले भोलि पार्टीका मन्त्रीहरूलाई बूढानीलकण्ठस्थित निवासमा बोलाउनुभएको छ।