
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भारतसँग सिमा जोडिएका जिल्लाहरुलाई प्राथमिकतामा राखेर प्रहरीले विशेष सुरक्षा योजनाअन्तर्गत निगरानी बढाउनुपर्ने बताउनुभएको छ । सिमा क्षेत्रबाट भइरहेको चोरी तस्करी र राजश्व चुहावट नियन्त्रण गर्न मुख्यमन्त्री आचार्यले प्रहरीका उच्च अधिकारी समक्ष आग्रह गर्नुभएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीसँगको भेटमा मुख्यमन्त्री आचार्यले सिमा क्षेत्रबाट भइरहेको अवैध कारोबार र राजश्व चुहावटलाई रोक्न निर्देशन दिनुभएको हो ।
‘‘तस्करी बढेको छ । अवैध बाटो भएर प्रसस्त माल सामानहरु भित्रिएका छन् । त्यसमा प्रहरीले निगरानी बढाउन जरुरी छ’‘, मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘‘मुल नाकाको साथ साथै अन्य चोरी हुने नाकाहरुको पहिचान गरेर प्रहरीले यसमा कडा निगरानी गर्न जरुरी छ । राजश्व चुहावटलाई रोक्ने र अवैधकारोबारहरुलाई निरुत्साहित गर्न प्रहरीले यसमा आफ्नो भूमिका बढाउन जरुरी छ । लुम्बिनी प्रदेशको जिम्मेवारी सम्हालेपछि प्रहरी नायव महानिरीक्षक कार्कीले मुख्यमन्त्री आचार्यलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा भेट गर्नुभएको हो। ‘‘भारतबाट दूध समेत नेपालमा आइरहेको भन्ने सूचना छ । यसले गर्दा नेपाली किसानको दूध बिक्री भइरहेको छैन । कुखुरा, माछा पनि तस्करी भएर नेपाल आइरहेको छ‘’, मुख्यमन्त्री आचार्यले भने, ‘‘यी विषयलाई विशेष ध्यान दिन जरुरी छ ।‘’
भेटमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्कीले सिमा क्षेत्रबाट हुने अवैध कारोबार, चोरी तस्करी र राजश्व चुहावट नियन्त्रणमा प्रहरी सक्रियतापूर्वक खटिएको जानकारी दिनुभयो ।उँहाले सिमा क्षेत्रमा निगरानी बढाएको र राजश्व छलेर भित्रिएका सामग्री जफत गरिएको बताउनुभयो । यसका साथै भारतबाट नेपाल गोरु भित्र्याउने र नेपाली बाटो भएर पुनः भारत पुर्याउने कार्यलाई रोक लगाइएको जानकारी दिनुभयो ।