
घोराही । सीसा नेपाल र बंगलामुखी सहकारी संस्था घोराही–१० नारायणपुरको आयोजनामा बिहीबार घोराहीमा ‘मानव अधिकारका लागि हाम्रो सरोकार’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सीसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसीको प्रमुख आतिथ्यतामा अन्तरक्रिया तथा सिपमूलक ब्युटिसियन तालिम समापन गरिएको हो । सात दिने तालिम लिएका १५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । प्रमुख अतिथि डिसीले तालिमले व्यक्तिलाई सीपयुक्त बनाएको भन्दै त्यसले आत्मनिर्भर हुन बल पुग्ने बताउनुभयो ।
सो अवसरमा विशिष्ट अतिथि दाङ जिल्ला प्रहरी प्रमुख एसपी अर्जुन तिमिल्सिनाले आर्थिकरुपले समस्या पर्दा वा पारिवारिक समस्याले मानिसहरु आत्महत्या गर्न बाध्य भएको बताउनुभयो । उहाँले वैदेशिक रोजगारीका कारण पारिवारिक समस्या आएको देखिएको भन्दै यसले मानवअधिकारको सम्मानमा आँच आएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको दूरुपयोगले पनि मानवअधिकारको सवालमा चूनौती थपिएको बताउनुभयो ।
सो अवसरमा बंगलामुखी सहकारी संस्था घोराही–१० नारायणपुरका अध्यक्ष राधा शर्मालाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा भुपु भारतीय सैनिक तथा भारतिय प्रशिक्षक बेचन वलीले कार्यक्रममा उपस्थित सबैलाई अनुसासन तथा आत्मरक्षाका बिषयमा प्रशिक्षण दिनुभएको थियो भने स्वच्छ नेपालका अध्यक्ष विन्दु गिरी, नारी सिप समाजका अध्यक्ष विष्णु थापा, अपांग मानवअधिकार एवं सरोकार मञ्चका सचिव देवका खनाल लगायतले मन्तब्य राख्नुभएको थियो भने सहभागीहरु निसा वली, दिव्या हमाललगायतले तालिममा आफुले गरेका अनुभवको बारेमा कुरा राख्नुभएको थियो । कार्यक्रममा स्वागत सिसा नेपालका सचिव उषा सुवेदीले र सञ्चालन पत्रकार दीपक वलीले गर्नुभएको थियो ।कार्यक्रममा अध्यक्ष सिद्धिकिले सहयोग गर्ने सबैमा धन्यबाद ज्ञापन गर्नुभएको थियो ।