
तुलसिपुर मङ्सिर २४
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश बलियो बनाउनका लागि बलियो शक्तिको आवश्यकता रहेको बताउनुभयो । तुलसिपुर उपमहानगरपालिका वडा न १९ को प्रशासनिक भवनको उदघाटन गर्दै उहाँले विगतभन्दा वर्तमान धेरै उपलब्धि प्राप्त भएको बताउनुभयो ।
तुलसिपुर उपमहानगरपालिक वडा न १९ का वडाध्यक्ष प्रेमनाथ योगीको अध्यक्षता एवम लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा भवन उदघाटन गरिएको हो ।
उहाँले जनतामा निरासाको खेती गर्नेहरुका कारण समाजमा अराजकता बढेको बताउनुभयो । एमाले महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण विकासमा समस्या सिर्जना भएको बताउनुभयो । कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले पालिकाका अब १९ वटै वडाले आफ्नै भवनबाट सेवा प्रारम्भ गरेको बताउनुभयो । उहाँले यसै महिनामा कृषि,पशु शाखा, वडा र स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा सुरु गरेको बताउनुभयो ।
नगरप्रमुख खड्काले वडाको प्रशासनिक कार्यालयसम्म आउने सडकलाई कालोपत्रे सुरुवात गरिने बताउनुभयो तुलसिपुर उपमहानगरपालिकाको वडा न १९ तोप्पापानीमा २०७४ सालमै शिलन्यास भएपनि निर्माण कार्य अधुरो रहेको थियो । वडाध्यक्ष प्रेमनाथ योगीले घोराही आँखा अस्पताल र बिजौरी छिल्लीकोट सडकखण्डकै नजिकमा सबै वडावासीको मध्यबिन्दुमा वडा कार्यालय भवन निर्माण गरिएको बताउनुभयो ।