२०८१ चैत्र ९ गते आइतवार

नारायणकाजी भन्छन्ः माओवादी सकिएन, अब उठ्यो

पोखरा – नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादीप्रति जनताको उत्साह झनै थपिएको बताएका छन्। हालै सम्पन्न उपनिर्वाचनले माओवादीप्रति जनताको विश्वास झनै बढेको उनको भनाइ छ। ‘माओवादी सकिएन झनै उठ्यो’, माओवादी सकिन्छ भन्नेप्रति लक्षित गर्दै उनले भने। मंगलबार नेकपा माओवादी केन्द्र शुक्लागण्डकीको दोस्रो नगरसभालाई सम्बोधन गर्दै श्रेष्ठले हार व्यहोरेका स्थानमा पनि मत बढाएको जिकिर गरे। ‘जहाँ जित्यौँ त जित्यौँ। जहाँ हामीले हार्‍यौँ त्यहाँ पनि भोट हिजोभन्दा बढ्यो’, उनले भने, ‘अरुभन्दा हामी माथि गयौँ। यसले के संकेत गर्छ भने माओवादी अब फेरि नयाँ ढंगले अघि बढ्दै छ। जनताको साथ विश्वास लिएर अगाडि बढ्दै छ। र शक्तिशाली पार्टी बन्दैछ।’जनताको मनोभावनालाई समेट्न एकताबद्ध भएर अगाडि बढ्ने उनले प्रतिबद्धता जनाए। जनताको बीचमा जाने योजनालाई पार्टीले प्राथमिकता दिने उनको भनाइ छ। माओवादी केन्द्र सरकार ढालेर आफू जाने खेलमा नलागेको उनले प्रस्टाए। देश र जनताको पक्षमा काम गर्न सकिने अवस्थामा मात्रै माओवादी सरकारमा जाने उनको दाबी छ। ‘प्रधानमन्त्री हुन उपप्रधानमन्त्री हुन मन्त्री हुन हामी सरकारमा जाने होइन। काम गर्ने अवसर पाउन सकिन्छ भने गएर गर्ने हो। काम गर्ने अवसर पाइँदैन भने झन्डा हल्लाउन मात्रै सरकारमा जाने हाम्रो नीति छैन’, पूर्वउपप्रधानमन्त्री श्रेष्ठले भने, ‘जसरी हुन्छ सरकार हटाउने र जसरी हुन्छ हामी सरकारमा जानेवाला छैनौँ। तर, यो सरकारले देश चलाउन सक्दैन। देशले यो सरकारलाई व्यहोर्न सक्दैन।’ उनले देशको स्थित गम्भीर मोडमा पुगेको खण्डमा सरकारमा गएर जनताको पक्षमा काम गर्ने सुनाए। सरकारमा सहभागी भएर पनि माओवादी मन्त्री टिकाइराख्ने खेलमा नलाग्ने श्रेष्ठको भनाइ थियो।

‘देश र जनताको पक्षमा काम गर्दा हट्न पनि तयार। जस्तै, भनौँ न, हाम्रो सरकारले नेपाली कांग्रेसका ठूलामध्येका एक नेता जो पूर्वगृहमन्त्री उनलाई कारबाही गरेको होइन हामीलेरु त्यतिखेर मन्त्रीबाट हट्न पर्छ किरु हाम्रो सरकार पनि उनीहरुले ढाल्छन् कि भनेर डराएर हामीले त्यो काम नगरी बसेनौँ’, उनले भने। अब माओवादीले वेपत्ता शहीद परिवारले परिवर्तनको महशुस गर्ने गरी काम गर्नुपर्नेमा उनको जोड थियो। देश फड्को मार्ने गरेर सुशासनको पक्षमा काम गर्दा माओवादीलाई सरकारबाट हटाएर वर्तमान गठबन्धन बनेको उनको आरोप छ। सरकारले पक्राउ गरेको भ्रष्टाचारीलाई रक्षा गर्नुपर्ने भएपछि कांग्रेस एमाले मिलेर नयाँ गठबन्धन बनाएको माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ बताउँछन्। भ्रष्टाचारी अनुसन्धान भएर पोल खुल्दै जाँदा आफूसम्म पनि प्रहरी आइपुग्ने भय कांग्रेस एमालेका नेतामा देखिएको उनी सम्झन्छन्। ‘उनीहरुले भ्रष्टाचार गर्थे। भ्रष्टाचार गर्ने ठाउँबाट केही समय आफू वञ्चित भएको त्यो भ्रष्टाचार गर्ने थलो फेरि चाहियो भन्न थालेँ’, उनले उल्लेख गरे।

घटनाक्रमले नै भ्रष्टाचारीको पक्षमा सरकार रहेको पुष्टि गरेको श्रेष्ठको जिकिर छ। ‘हामीले ललिता निवास काण्डमा मुद्दा चलाएर विशेष अदालतले दुई वर्ष कैद सजाय गरेर बिगो जरिवाना गरेको मान्छे जो अहिले सर्वोच्च अदालतमा मुद्दा छ। त्यही मान्छेसँग दान भनेर अर्बौंको जग्गा आफ्नो पार्टीलाई घडेरी लिने। घर पनि उसैले बनाइदिने। यही त हो भ्रष्टाचारको नयाँ तरिका भनेको’, नेकपा एमालेप्रति लक्षित गर्दै नारायणकाजीले भने। संगठित गिरोहको योजनामा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीलाई सफाइ दिएर वर्तमान सरकारले भ्रष्टाचारको अर्को नमुना पेश गरेको उनको भनाइ थियो। पैसा तिरेर जापन पुग्न लागेकालाई कारबाही गरेर नेतालाई सफाइ दिन नमिल्ने उनले बताए। ‘यो भन्दा गएगुज्रेको नालायक सरकार पनि हुन्छरु जसले भ्रष्टाचारीलाई यसरी रक्षा गर्छ। व्यवहारबाटै पुष्टि भइराखेको छ नि’, उनले भने।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस