२०८१ चैत्र ९ गते आइतवार

खेलमा हारजित हुन्छ, अब माथि उठ्छौँ : कप्तान सन्दीप

काठमाडौँ : विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेले बलिङमा राम्रो शुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हार भएको बताउनुभएको छ।सुदूरपश्चिम रोयल्ससँगको फराकिलो हारपछि कप्तान सन्दीपले आफूमाथि रहेको आशा र आफ्नो लक्ष्यअनुरूप बलिङ गर्न नसकेको स्वीकार गर्नुभयो। खेलजीवनमा हार जित हुने र यहाँबाट माथि उठ्ने उँहाले विश्वास व्यक्त गर्नुभयो।

उँहाले यो हारका कारण धेरै दबावमा नरहे पनि जितबाट मिल्ने खुसीबाट टोलीमा वञ्चित भएको उल्लेख गर्नुभयो। उँहाले घरेलु खेलाडीले प्रयास गर्दा पनि राम्रो नतिजा नआएकाले उनीहरूमाथि आरोप लगाउन नहुने स्पष्ट पार्नुभयो। उँहाले दुई खेलमा विकेट नआउनु धेरै ठूलो कुरा नरहेको धारणा राख्नुभयो। खेलमा कहिलेकाहीँ यस्तो हुने र यसलाई धेरै ठूलो कुराका रूपमा लिन नहुने पनि उँहाको भनाइ छ।


दुई खेलमा १० विकेट आउँदा कसरी आयो भनेर कसैले नसोध्ने तर विकेट आएन भने धेरै प्रश्न उठ्ने गरेको उँहाको गुनासो छ। सन्दीपले योजनानुरूप नतिजा नआउने भए पनि त्यहाँको परिस्थितिअनुसार अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट हेर्दा सहज नदेखिए पनि टोलीले ब्याटिङमा राम्रो प्रदर्शन गरेको बताउनभयो। पहिलो खेलमा जित सम्भव भएको र अब आगामी खेलमा ध्यान दिने उँहाले उल्लेख गर्नुभयो। आफ्नो टोलीले १५० रनभन्दा बढीको लक्ष्य सोचेको र तदनुरूप ब्याटिङ भएको पनि उँहाको कथन छ। उँहाले टोलीमा तलसम्म राम्रो ब्याटिङ गर्नसक्ने खेलाडी रहेको जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस