
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संकटमा परेको देशलाई एमाले र कांग्रेस मिलेर सङ्कटमुक्त गर्ने अभियानमा लागेका बताउनु भएको छ । एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्नेमाथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो। उँहाले भन्नुभयो, ‘अहिले केपी ओलीमाथि प्रहार भइरहेको छ । जसले मुलुकलाई, मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यसमाथि कस्तो प्रहार हुन्छ भन्ने कुरा अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ ।’
सर्वोच्च अदालतको फैसलाबाट कमजोरले शासन गर्ने परिपाटीको सुरुवात भएपछि देशमा समस्या सुरु भएको उँहाले बताउनुभयो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार रहुञ्जेलसम्म देश आर्थिक संकटमा परेको महासचिव पोखरेलले जिकिर गर्नुभयो । उँहाले भन्नुभयो, ‘जसले गल्ती गर्यो, त्यो आलोचनाभन्दा बाहिर छ, जसले गल्ती नै गरेको छैन, त्यो आलोचनाको निशानामा छ । यसअघिको सरकारका प्रधानमन्त्री र अर्थमन्त्रीले निर्माण व्यवसायीको रकम भुक्तानी माग नगरेका होइनन्, भुक्तानी गर्नुपर्ने छ भनेर दायित्व पनि राखेनन् ।
देश बनाउन नेतामात्र होइन, जनता पनि लाग्नुपर्नेमा उँहाले जोड दिनुभयो । उँहाले थप्नुभयो, ‘देश बनाउने हो भने हामी जनता पनि देश बनाउने बाटोमा हिँड्नुपर्यो, पार्टीलाई गाली गरेमात्रै देश बन्दैन, नेतालाई गाली गरेरमात्रै देश बन्दैन । अहिले राजनीतिक अस्थिरताका कारण देश समस्यामा परेको छ । त्यसलाई सुधार्न दुई ठूला दलले सरकार बनाएका छौं । हामीले सबैभन्दा पहिला निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेछ । नेपालको अर्थतन्त्रलाई लयमा ल्याउन नयाँ हिसाबले अघि बढ्नुपर्ने उँहाको भनाइ छ ।