२०८१ चैत्र ९ गते आइतवार

निकुन्जको त्रास कायमै, विकासमा स्थानीय सरकार नै बेखबर

दाङ । नेपाली काङ्ग्रेसको सय दिने सङ्गठन सुदृढीकरण अभियान गङ्गटेमा भैरहँदा त्यहाँका स्थानीयवासीको बेग्लै आक्रोश छ । उनीहरु एकातिर निकुञ्जबाट आउने वन्यजन्तुको आक्रमणले त्राहित्राहि छन् । अर्कातिर गङ्गटेको समग्र विकासमा स्थानीय सरकारनै बेखबर रहेको स्थानीयबासीले बताएका छन् । जिल्ला सभापति सहित काङ्ग्रेस गङ्गटे पुग्दा त्यहाँका स्थानीयबासीले गङ्गटेको सबैभन्दा ठुलो पीडा भनेको निकुञ्जबाट आउने जङ्गली जनावरको आतङ्क हो । यसलाई रोक्न स्थानीय सरकार, प्रदेश सरकार तथा सङ्घीय सरकारसँग त्यहाँका स्थानीयवासीहरूले काङ्ग्रेसको घरदैलो अभियानमा माग गरेका छन् । ‘राजनीति र नेपाली काङ्ग्रेसलाई हामीले राम्ररी बुझेका छौ, अव सङ्गठन विस्तारसँगै यहाँका जनताको दैनिक जनजिविकालाई सुरक्षित बनाउन निकुञ्जमा तारबार गर्न र बबई नदिमा पक्की तटबन्ध निर्माण गर्न आग्रह गर्दछौँ’, बबई गाउपालिका १ का स्थानीयवासी पोखरसिंह बुढाले भन्नुभयो । उँहाले जङ्गली जनावरले वर्षभरी गुजारा गर्न फलाएको अन्नबाली स्याहानै नदिने समस्याबाट मुक्ति दिने विकल्प खोज्न पनि पार्टी प्रतिनिधिहरूलाई आग्रह गर्नुभयो । ‘हामी एकातिर निकुन्ज क्षेत्रबाट आउने बाघ, बँदेल र बाँदरबाट आतङ्कित छौ, अर्कातिर हामीलाई विकासको अनुभुति पनि हुन सकेको छैन’, गङ्गटे कै अर्का स्थानीयवासी राम बहादुर पुनले भन्नुभयो ।

गङ्गटेलाई केही अघि मात्र सडक यातायातले छोएपछि बाह्रै महिना यातायात सुविधा नहुँदा स्थानीयवासीलाई निकै कठिनाइ भैरहेको उँहाले बताउनुभयो। ‘सुत्केरी बेथाले च्यापेका गर्भवतीलाई एम्बुलेन्समा अस्पताल लैजान पनि समस्या छ’, रामबहादुरले भन्नुभयो, यहाँ आउने बाटो बाह्रै महिना चल्ने बनाउन विनम्र आग्रह गर्दछु ।’ गङ्गटे बासी बिरामी परेमा वा सुत्केरी व्यथाले च्यापेमा चिन्न लगाएर बबई तरेर शमशेरगन्ज निस्केर कोहलपुर पुग्नुपर्ने बाध्यता रहेको पनि उँहाले बताउनुभयो । त्यसैगरी गङ्गटेमा सहज रुपमा सफा पिउने पानीको समस्या रहेको, विद्युतको नियमितता नभएको, टेलिफोन सेवा पनि मुस्किलले सञ्चालन हुने लगायतका समस्यै समस्या रहेको पनि उँहाले बताउनुभयो । ‘यो सडकलाई बाह्रै महिना चल्ने गरी बनाउन हामीले पटक पटक हापुरे गएर स्थानीय सरकारलाई गुहार्यौँ, तर स्थानीय सरकारको यहाँ उपस्थिति नै छैन’, रामबहादुरले स्थानीय सरकारप्रति आक्रोश पोख्नुभयो । जुन पार्टीको स्थानीय सरकार बनेपनि गङ्गटे उपेक्षामा परिरहेको उनीहरूको भनाइ थियो ।

काङ्ग्रेसको सय दिने अभियानमा पार्टी सङ्गठन सुदृढिकरणको भन्दा पनि स्थानीयलाई समावेशी एवं समानुपातिक विकासको चिन्ता थियो । स्थानीयबासीले राजनीतिलाई विकास निर्माणसँग जोड्न सके मात्र आम गङ्गटेबासीको अपेक्षा पुरा हुने पनि स्थानीयवासीको अभिव्यक्ति थियो । नेपाली काङ्ग्रेस बबई गाउँपालिका १ का इकाई सभापति डिल्ली बहादुर विष्टको अध्यक्षतामा भएको नेपाली काङ्ग्रेसको सय दिने अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेपाली काङ्ग्रेस जिल्ला सभापति शकर प्रसाद डाँगीले गङ्गटेको समस्यामा नेपाली काङ्ग्रेस सधैँ सकारात्मक रहेको बताउनुभयो । ‘तपाइका यावत समस्यामा नेपाली काङ्ग्रेस दाङ सँगसँगै छ, यहाँको समग्र विकास निर्माणका लागी सङ्घ र प्रदेशमा आवाज उठाउने छु’ सय दिने अभियानलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले भन्नुभयो । गङ्गटेको समग्र विकासमा सबैभन्दा बढि नेपाली काङ्ग्रेस चिन्तित रहेको भन्दै वगरपुरदेखि यहाँ आउने सडकलाई बाह्रै महिना चल्ने बनाउन आफूले तीनै तहका सरकार समक्ष पहल गर्ने पनि उँहाले आश्वासन दिनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २ गते आइतवार
प्रतिक्रिया दिनुहोस