
देउखुरी, २२ कार्तिक
नेत्रहिन क्रिक्रेट संघ नेपालले टि २० विश्व कपको लागि पन्ध्र जना (पुरुष) नेत्रहिन राष्ट्रिय क्रिक्रेट टोलीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । संघले बुधवार अन्तिरम चरणको बन्द प्रशिक्षण क्याम्पमा १५ खेलाडी बोलाएको हो । टि २० विश्व कपको तयारीको लागि बुधवारदेखि देखि लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियममा अन्तिम चरणको बन्द प्रशिक्षण क्याम्प सुरु भएको हो । बन्द प्रशिक्षण कात्तिक २२ गतेदेखि दाङको लमहीमा १३ दिनसम्म सञ्चालन हुनेछ । नेत्रहिन क्रिक्रेट संघ नेपालका कोषाध्यक्ष उपेन्द्र श्रेष्ठले टि २० विश्व कप नोभेम्बर २०२४ नोभेम्बर २१ देखि डिसेम्बर ३ सम्म पाकिस्तानमा हुने तय भएको जानकारी दिनुभयो । यस विश्वकपमा ८ देशको सहभागिता रहनेछ । जस अन्तरगत नेपाल, पाकिस्तान, भारत, श्रीलंका, बंगलादेश, साउथ अप्रिका, न्युजिल्याण्ड र अबगानिस्तानले सहभागी हुदैँछ । अन्तिम चरणको बन्द प्रशिक्षण खेलमा नेपाल क्रिक्रेट संघका लेबल एकको प्रशिक्षक एवम् दाङ क्रिक्रेट संघका सचिव सञ्जु क्षेत्री र सहायक कोच नरेन्द्र निरौला रहनु भएको छ । नेत्रहिन क्रिक्रेट संघ नेपालको केन्द्रीय समितिको बैठकले दाङको लमहीमा रहेको देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियममा प्रशिक्षण खेल राख्ने निर्णय गरेको हो ।
संघको निर्णयले लमहीका बासिन्दामा खुसी छाएको छ । १२ करोड लागतमा निर्माण भएको यो मैदान खेल नहुँदा घाँससहितको अत्याधुनिक मैदान गौचरन बनेको थियो । ५०० दर्शक क्षमताको (जी स्ट्यान्डर्ड) भीआईपी स्ट्यान्ड, आउटफिल्ड, बाउन्ड्री, क्रिजहरू, स्टम्प र बेल्स, साइट स्क्रिन, र डगआउट÷पविलियन जस्ता सबै संरचनाहरू निर्माण सम्पन्न भइसकेको लमही नगर विकास समितिका सब–इञ्जिनयर तुलसीराम अर्यालले बताउनुभयो । यद्यपि, प्यारापिट, भारोत्तोलन एकेडेमी, र सुटिङ रेञ्ज जस्ता संरचना बने पनि प्रयोगविहीन बनेको थियो । करोडौंको खेल पूर्वाधार तयार हुँदासमेत लमहीका खेलप्रेमी र खेलाडीको उत्साह निराशामा परिणत हुँदै आएको थियो । देउखुरी अन्तराष्ट्रिय क्रिक्रेट स्टेडियमको दुरावस्था देखेर जो कोही पनि निराश हुने गरेका छन् । आठौं राष्ट्रिय खेलकुदका बेला महिला क्रिकेटको आयोजना भए पनि त्यसपछि मैदान खेल कुर्दै आएको थियो । लमही नगर विकास समितिको स्वामित्वमा पूर्व–पश्चिम राजमार्गसँगै सटेको चार बिघा क्षेत्रफलमा नगर विकासको दश करोड र युवा तथा खेलकुद मन्त्रालय तथा लुम्बिनी प्रदेश सरकारको न्यून लागतमा अन्तर्राष्ट्रिय मापदण्डअनुसार मैदान निर्माण भएको हो ।
खेल पूर्वाधार भए पनि राज्यको ध्यानाकर्षण नहुनु र खेल हुन नसक्नु दुःखद रहेको स्थानीयहरूले बताएका छन् । ९औं खेलकुद प्रतियोगिता वि।सं।२०७७ मा कोरोना महामारीका कारण हुन सकेन । स्टेडियम भित्र आवश्यक पूर्वाधार बनेपछि पनि एकपटक पनि प्रयोगमा आएका छैनन् । देश संघीय संरचनामा गइसकेपछि पनि सुविधा सम्पन्न मैदान प्रयोग नहुनुले स्थानीयमा निराशा उत्पन्न भएको थियो । तर, बन्द प्रशिक्षणले फेरि उत्साह जगाउन थालेको छ । चार वर्षको अवधिमा मात्र महिला क्रिकेट खेल प्रतियोगिता सञ्चालन भएको छ । नियमित अभ्यास र प्रतियोगिता नभएपछि क्रिक्रेट स्टेडियम अस्तव्यस्त बनेको थियो । नगर विकास समितिले नवनिर्मित संरचना क्यानलाई लिजमा दिने वा स्थानीय वा संघ मातहत राख्ने भन्ने विषयमा अझै टुंगो लागेको छैन । स्वामित्व हस्तान्तरण नहुँदा क्यानले लिन नमान्दा मैदान अन्योलमा रहेको स्रोतले जनाएको छ । क्रिकेट मैदानलाई खेलाडीमैत्री बनाई नियमित प्रतियोगिता सञ्चालनको वातावरण बनाउन खेलाडी तथा खेलसँग सम्बद्धहरूले माग गरेका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले नियमित खेल र अभ्यासका लागि पहल गरिने बताउनुभयो । नेत्रहिन क्रिक्रेट संघ नेपालले बन्द प्रशिक्षणका लागि बेलाएको खेलाडीहरुमा कप्तान रमेश बहादुर बानियाँ, उपकप्तान दम बहादुर बडैला, सुनिल सुवेदी क्षत्री, सागर लामा, दुर्गादत्त पौडेल, प्रेम बहादुर क्षेत्री, निश्चल शिवाकोटी, भरत थापा, प्रविन स्याङ्तान, मदन न्यौपानो हुनुहुन्छ । यसैगरी अमिश गुरागाईँ, सन्त पहरी, सुनिल राना मगर, नरेश चौधरी र पदम कार्की पनि बन्द प्रशिक्षणमा पर्नुभएको बन्द प्रशिक्षण खेलका कोडिनेटर प्रेम पुलामीले जानकारी दिनुभयो ।।