२०८१ चैत्र ९ गते आइतवार

भारतलाई २५ रनले हराउँदै न्यूजिल्यान्डद्वारा तीन खेलको सिरिज ‘क्लिन स्वीप’

काठमाडौं । तेस्रो टेस्टमा भारतलाई २५ रनले पराजित गर्दै न्यूजिल्यान्डले तीन खेलको सिरिज क्लिन स्वीप गरेको छ । न्यूजिल्यान्डले भारतमा टेष्ट सिरिज जितेको यो पहिलो पटक हो । भारतले टेष्ट क्रिकेटमा २४ वर्षपछि घरेलु मैदानमा क्लिन स्वीप हार बेहोरेको हो । यसअघि सन् २००० मा भारतविरुद्ध दक्षिण अफ्रिकाले भारतमै २ खेलको टेस्ट सिरिज क्लिन स्वीप गरेको थियो । तीन वा सोभन्दा बढी टेष्ट म्याचको घरेलु शृंखलामा भारत क्लिन स्वीप भएको भने पहिलो पटक हो ।

न्यूजिल्यान्डले यस सिरिजको पहिलो खेल आठ विकेट र दोस्रो खेल १ सय १३ जितेको थियो । मुम्बईको वानखेडे स्टेडियममा न्यूजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएको थियो । जवाफमा भारत २ सय ६३ रनमा अलआउट भएको थियो । भारतसँग २८ रनको अग्रता थियो । दोस्रो इनिङ्समा न्यूजिल्यान्ड १ सय ७४ रनमा समेटिएपछि भारतले १ सय ४७ रनको सामान्य लक्ष्य पाएको थियो । तर घरेलु टोलीले १ सय २१ रन मात्र बनाउन सक्यो ।

भारतका लागि दोस्रो इनिङ्समा ऋषभ पन्तले सर्वाधिक ६४ रन बनाए भने न्यूजिल्यान्डका लागि अजज पटेलले ६ विकेट लिए । खेलमा अजाजले ११ विकेट लिए । उनी खेलको प्लेयर अफ द म्याच चुनिए ।

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस