
दाङ, ५ कार्तिक ।
दाङमा डेढलाख बढी नगदसहित १० जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले शान्तिनगर गाउँपालिका ४ जुम्लेकुला निवासी धर्मराज चन्दको घरबाट जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ६४ हजार ३०५ सहित १० जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ९ जना दाङ र १ जना कञ्चनपुरका रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।उहाँका अनुसार पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षका देव बहादुर केसी, ५४ वर्षका सालिकराम भण्डारी, ४३ वर्षका मेघबहादुर केसी, ३६ वर्षका कमल बुढाथोकी, ४८ वर्षका कालुराम चौधरी रहेका छन् ।
यसैगरी शान्तिनगर(४ कै ३१ वर्षका तेजबहादुर केसी, ४९ वर्षका धर्म चन्द, ५७ वर्षका यज्ञ बहादुर केसी, ४२ वर्षका यज्ञराज डाँगी र कञ्चनपुरको बेलौरी नगरपालिका ८ का ३६ वर्षका बिक्रम चौधरीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरी निरीक्षक थापाका अनुसार पक्राउ परेका साथबाट नगदसहित ५ वटा मोबाइल र १ गड्डी तास बरामद गरिएको छ । उनीहरुलाई गएराती पक्राउ गरिएको र आवश्यक अनुसन्धान अघि बढाएको उहाँले बताउनुभयो ।