२०८२ जेष्ठ ३ गते शुक्रवार

आज फूलपाती स् दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा भित्र्याइँदै

२४ असोज, घोराही( असोज शुक्ल सप्तमीका दिन आज दुर्गापीठ, दशैँघर, कोत तथा घर–घरमा फूलपाती भित्र्याइँदै छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, मानक, कचुर, दारिम, जयन्ती, अशोकको फूल र अन्य पालुवा भित्र्याउने चलन छ । हनुमानढोका दरबारको दशैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ ।

नवपत्रिकाको नामलेसमेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बताएको छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यकता नपर्ने समितिको भनाइ छ ।यस्तै, हनुमानढोका दरबारको दशैँ घरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँ घरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङको जीवनपुरबाट काठमाण्डौको जमलसम्म काठमाण्डौबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रही आएको छ ।

जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारी, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिएको छ । घटस्थापना गरी जमरा राखेपछि शुरु हुने दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्छ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेसा र व्यवसायमा सङ्लग्न मानिस स–परिवार बसेर टीका थाप्न आ–आफ्नो घर फर्कने क्रम बढ्ने गर्छ ।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस