२०८१ चैत्र ९ गते आइतवार

दशै मनाउन घर फर्किनेको जमुनाह नाकामा भिड , चेकजाँचमा तिब्रता

बाँके । देशका अधिकांश नाकाहरुमा स्वदेश फर्किनेहरुको भीडभाड हुन थालेको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दसैँ मनाउन घर फर्कने गरेको र अहिले जमुनाह नाकामा लर्को लाग्ने गरेको हो । ईलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले नेपालगञ्जस्थित जमुनाह नाका भएर दैनिक करिब एक हजार ५०० व्यक्ति स्वदेश भित्रिरहेको जानकारी दिनुभयो ।

दसैँ, तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएसँगै रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर पुगेका नेपाली चाडपर्व मनाउन देशभरका नाका हुँदै स्वदेश फर्किने गरेका छन् । पूर्वी नाका काकडभिट्टा र बीरगञ्ज,धनुषाको मटियानी,जलेश्वर लगायतका नाकाबाट पनि दैनिक हजारौँको संख्यामा स्वदेश फर्किरहेका छन् । यो क्रम थप बढ्ने आँकलन गरिएको छ । यो संख्या दशैको मुखमा लाखौँ पुग्ने गरेको छ । त्यस्तै पैदल मार्गबाट मात्रै नभएर दशै नजिकिएसँगै साउदी,दुबै युरोप,अमेरिका लगायतका मुलुकबाट हवाईमार्ग हुँदै स्वदेश फर्किनेहरुको संख्या समेत बढ्न थालेको छ ।

दशैमा हवाईमार्गबाट समेत बर्षेनी पचासौँ हजार दशै,तिहार र छठ पर्व मान्न स्वदेश आउने गरेका छन् । दसैँको बेला भारतमा रोजगारीका लागि गएका नेपाली फर्किने क्रममा नाकामा दुःख दिने र लुटपाट हुने भएकाले यस्ता घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी भन्सार कर्मचारी खटिएका छन ।

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस