काठमाडौँ –यस वर्षको मनसुन आजदेखि बाहिरिन थालेको छ। निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो। सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आज बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको बिभिागले बताएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ। आज कोशी, गण्डकी, बागमती र लुम्बिनी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भएको पनि जनाइएको छ। केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ।
अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ। यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो। एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिन थालेको छ। मनसुन देशैभरि फैलिन भने अर्को एक हप्ता लागेको थियो।










