
देउखुरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले विश्वासको मत पाउनुभएको छ । प्रदेश सभाको मंगलबारको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुभएको हो । उँहाले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ७० सांसदले मत दिएका हुन।
उँहालाई नेकपा (एमाले) का २९, नेपाली कांग्रेसका २७, नागरिक उन्मुक्ति पार्टीका ४, जनमत पार्टीका ३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३, जनता समाजवादी पार्टी (जसपा) २, जनता समाजवादी पार्टी नेपालका एक र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन। त्यस्तै, उँहाको विश्वासको मतको विपक्षमा ११ मत परेको हो । नेकपा माओवादी केन्द्रका ९, राष्टिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजवादीका १ सांसदले विपक्षमा मत हालेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका ३ जना सांसद तटस्थ बसेका हुन।
राप्रपाका एक जना सांसद जानकीप्रसाद यादव मंगलबारको बैठकमा उपस्थित हुनुभएन । आचार्य एमाले र कांग्रेसको समर्थनमा गएको साउन ७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थिये। केन्द्रमा नयाँ गठबन्धन बनेपछि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता जोखबहादुर महराले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो। ८७ सदस्यीय प्रदेशसभामा बहुमतको लागि ४४ मत आवश्यक पर्छ।